कृष्ण रिजाल
पछिल्ला वर्षहरूमा नेपालका कृषिमा आधारित उद्योगमा भारतीय लगानी बढ्दै गएको छ । उद्योग विभागको पछिल्लो ४ वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा भारतीय लगानीका कृषिमा आधारित उद्योगको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ । विसं २०६४ सम्ममा नेपालमा भारतीय लगानीको कृषिमा आधारित उद्योग एउटा मात्रै थियो । आर्थिक वर्ष २०६७र६८ सम्म आइपुग्दा त्यो सङ्ख्या बढेर सातओटा पुगिसकेको छ । यसमध्ये प्रस्तावित तीनओटा उद्योग नेपाल–भारत संयुक्त लगानीका रहेका छन् ।
नेपालमा आर्थिक वर्ष २०६७र६८ सम्ममा कृषिमा आधारित उद्योगहरूमा प्रस्तावित नेपाल–भारत संयुक्त लगानी करीब ७९ करोड २९ लाख रुपैयाँ पुगेको छ । यसमध्ये ५७ करोड रुपैयाँ भारतीय लगानीकर्ताको रहेको छ । नेपालका कृषिमा आधारित उद्योगहरूमा एमआईटी ग्रूप होल्डिङ प्रालिलगायत कम्पनी रहेका छन् । तर, यस क्षेत्रमा संस्थागतभन्दा व्यक्तिगत भारतीय लगानी बढी रहेको विभागको तथ्याङ्क छ ।
अन्य क्षेत्रको तुलनामा कृषिमा आधारित उद्योगमा भारतीय लगानी न्यून देखिन्छ । यद्यपि, नेपालमा लगानी गर्ने अन्य मुलुकसँगको तुलना गर्ने हो भने यस क्षेत्रमा भारतीय लगानी सन्तोषजनक नै छ । खासगरी ढुवानी, कच्चापदार्थ, बजार र सरकारी सहयोगका हिसाबले कृषिमा आधारित उद्योगमा लगानी गर्न नेपालमा भन्दा भारतमै बढी फाइदाजनक हुने भएकाले यस क्षेत्रमा उल्लेखनीय लगानी आउन नसकेको बताइन्छ । नेपालमै पनि भण्डारण, प्रशोधनलगायत सुविधा उपलब्ध गराउन सकेमा यस क्षेत्रमा भारतीय लगानी उल्लेखनीय रूपमा आउन सक्ने नेपाल–भारत उद्योग वाणिज्य सङ्घका सदस्य आनन्द बगारिया बताउँछन् । नेपाललाई कृषिप्रधान देश भनिए पनि यसको विकासका लागि भने सरकारले पर्याप्त ध्यान नै नपु¥याएको उनको भनाइ छ । ‘तुलनात्मक रूपमा कृषिमा आधारित उद्योगलाई बढी सहुलियत तथा सुविधा उपलब्ध गराउन सकिएमा नेपालको औद्योगिकीकरणले गति लिन सक्छ,’ उनले भने ।
उद्योग स्थापना तथा सञ्चालनका लागि प्रक्रिया झञ्झटिलो भएको तथा उत्पादनको भण्डारण, प्रशोधन र बजारीकरणमा सरकारी सहयोग नभएकै कारण कृषिमा आधारित उद्योगमा पर्याप्त लगानी नआएको हो । तर, भारतसँगको बिप्पा सम्झौता, लगानी बोर्डको गठनलगायत कदमपछि भने भारतीय लगानीकर्ताहरू कृषिक्षेत्रमा पनि लगानी गर्न आकर्षित भएका छन् ।
Comments
Post a Comment