मङ्सिर १९, काठमाडौं । ग्रामीण क्षेत्रमा निकै प्रभावकारी बनेको सौर्य ऊर्जा प्रणाली (सोलार सिष्टम)को प्रयोग शहरी इलाकामा समेत बढेको छ । उपभोक्ताले लोडशेडिङको विकल्पका रूपमा सोलार सिष्टमलाई लिन थालेपछि शहरी क्षेत्रमा यसको माग बढेको व्यवसायीहरू बताँउछन् । अहिले शहरी क्षेत्रका १२ हजारभन्दा बढी घरमा सोलार सिष्टम जडान भइसकेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सोलार शाखा प्रमुख मधुसुदन अधिकारीको अनुमान छ ।
सोलार सिष्टमप्रतिको चेतना अभिवृद्धि हुँदै गएकाले शहरतिर पनि यसको प्रयोग बढेको नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका महासचिव किरण गौतम बताउँछन् । सङ्घका अनुसार काठमाडौंका साथै पोखरा, नारायणघाट, बुटवल, विराटनगर, हेटौंडा, वीरगञ्ज, नेपालगञ्जलगायत शहरमा सोलार सिष्टमको माग बढेको छ । ‘अहिले शहरमा मात्रै मासिक करीब ३ सय घरधुरीमा सोलार सिष्टमको जडान हुने गरेको छ,’ महासचिव गौतमले भने । वातावरणको संरक्षण गर्न, विद्युत् आपूर्तिलाई सहज बनाउन तथा लोडशेडिङ घटाउन इन्भर्टर तथा जेनेरेटरलाई विस्थापन गर्दै सोलार सिष्टमको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ ।
‘सरकारले शहरका सडक, कम्प्युटरलगायत विद्युतीय सामग्री कम प्रयोग हुने कार्यालय तथा विभिन्न सार्वजनिक स्थलमा सोलार सिष्टमको प्रयोगलाई अनिवार्य गरेमा लोडशेडिङको समस्या केही मात्रामा घट्न सक्छ,’ उनले भने । जेनेरेटर प्रयोगका लागि आवश्यक पेट्रोलियम पदार्थ सहज उपलब्ध नहुनु तथा बढ्दो लोडशेडिङलाई इन्भर्टरले समेत धान्न नसकेकाले सोलार सिष्टम अनिवार्यजस्तै बनेको घाम पावरकी विक्री तथा बजार निर्देशक मुन प्रधानको भनाइ छ । घाम पावरले ग्रामीण इलाकाका साथै काठमाडौं, पोखरा, विराटनगरलगायत शहरमा सोलार सिष्टम जडान गर्दै आएको छ ।
‘लोडशेडिङ बढ्दै जाँदा जेनेरेटर तथा इन्भर्टरको मूल्य पनि बढेको देखिन्छ,’ विक्री तथा बजार निर्देशक प्रधानले भनिन्, ‘तर सोलार सिष्टम सहजै उपलब्ध हुने तथा तुलनात्मकरूपमा सस्तो पनि पर्ने हुँदा यसप्रति उपभोक्ताको आकर्षण बढेको हो ।’ शहरी क्षेत्रका व्यक्तिगत घरका साथै कार्यालय तथा सार्वजनिक स्थलमा प्रयोगका लागि सोलार सिष्टमको माग बढेको घाम पावरले जानकारी दिएको छ । लोडशेडिङको समय निरन्तर थपिँदै जानुले ग्रामीणसँगै शहरी क्षेत्रमा पनि सौर्य ऊर्जा प्रणाली लोकप्रिय हु“दै गएको छ ।
सरकारले सौर्य ऊर्जाका उपकरणको आयातमा करमिनाहा तथा ग्रामीण क्षेत्रमा सोलार सिष्टम जडानका लागि अनुदानसमेत दिँदै आएको छ । यसरी सरकारी निकायबाट प्राथमिकतामा पारिएकाले सोलारको व्यापार अझै बढ्ने सम्भावना रहेको उनीहरूको भनाइ छ । सरकारका तर्फबाट सोलार सिष्टम जडानका लागि अनुदान रकम वितरण गर्दै आएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हालसम्म ग्रामीण भेगका ३ लाखभन्दा बढी घरधुरीमा सोलार जडान गरिसकेको छ । त्यसका लागि नेपाल सरकारले रू. २ अर्बभन्दा बढी लगानी गरिसकेको केन्द्रले बताएको छ ।
Comments
Post a Comment