कृष्ण रिजाल, फागुन ३०, काठमाडौं । केही महीना अघिदेखि नेपाली बजारले झेल्दै आएको हार्डडिस्क अभावको समस्या अहिले लगभग मत्थर भएको छ । अहिले नेपाली उपभोक्ताले बजारमा सजिलै हार्डडिस्क पाउन थालेका छन् । करीब ४ महीनाअघि थाइल्याण्डमा आएको बाढीले त्यहाँ भएका लाखौं थान हार्डडिस्क नष्ट गरेपछि त्यसको प्रभाव नेपालमा पनि परेको थियो । बाढीले हार्डडिस्क उत्पादन गर्ने उद्योगहरूमा समेत क्षति गरेको थियो । अहिले थाइल्याण्डमा हार्डडिस्क उत्पादन शुरू भइसकेको र नेपालमा पनि क्रमिकरूपमा आयात बढ्दै गएकाले हार्डडिस्क अभाव कम हुँदै गएको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)का महासचिव नारायण न्यौपानेले अभियानलाई बताए ।
अभाव हटे पनि अभावसँगै बढेको हार्डडिस्को मूल्य भने घटेको छैन । ‘त्यसबेला हार्डडिस्कको मूल्य शतप्रतिशतले बढेको थियो, अहिले बजारमा बढेको मूल्यमै किनबेच भइरहेको छ,’ न्यूरोडका एक कम्प्युटर विक्रेताले अभियानसँग भने । तर, अहिले बढेको मूल्य भन्दा १० देखि १५ प्रतिशत कम मूल्यमा हार्डडिस्कको किनबेच भइरहेको क्यान महासचिव न्यौपानेले बताए । ‘डलरको भाउ उतारचढावले गर्दा हार्डडिस्कको भाउ पहिलेकै स्थितिमा त आउन सक्दैन, तर एक महीनाभित्र अहिलेको भन्दा ३० प्रतिशतसम्म कम हुन सक्छ,’ उनले भने । अहिले ससानो परिमाणमा मात्र हार्डडिस्क आयात भइरहेको जानकारी दिँदै न्यौपानेले ठूलो परिमाणमा आयात हुन थालेपछि मूल्य घट्ने बताए ।
बजारमा अभाव घट्दै गए पनि मागअनुसार आपूर्ति भने अझै हुन नसकेको इशान इन्फोसिस प्रालिका निर्देशक शिशिर उपाध्ययले बताए । इशान इन्फोसिस सामसुङ ब्राण्डका आईटी सामग्रीका नेपालका लागि आधिकारिक विक्रेता हो । उनका अनुसार थाइल्याण्डमै हार्डडिस्कको उत्पादन मागअनुसार हुन सकेको छैन । बजारमा ल्यापटपमा भन्दा डेक्सटप कम्प्युटरमा प्रयोग हुने हार्डडिस्कको अभाव बढी रहेको उनले जानकारी दिए । अहिले नेपाली बजारमा १ सय ६० जीबी देखि १ टीबी स्टोर क्षमताका हार्डडिस्कहरूको प्रयोग बढी हुने गरेको छ । यस्ता हार्डडिस्कको मूल्य ४ हजार ५ सय रुपैयाँदेखि १२ हजार रुपौयाँसम्म पर्ने उपाध्ययले जानकारी दिए ।
Comments
Post a Comment